विराटनगरमा तीनमहिने निःशुल्क सिलाई कटाई तालिम सुरु

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा निःशुल्क सिलाई कटाई तालिम सुरु भएको छ । वडाका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सोमबारदेखि तीनमहिने तालिम सुरु भएको हो । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले सिलाई कटाई जीवनोपयोगी सीप भएको चर्चा गरे । उनले सिलाई कटाई सिकेपछि आफ्नो र घरको लुगासमेत आफैंले सिलाउन सकिने बताइन् । उपमेयर कार्कीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले महानगरले लगानी गरेर निःशुल्क सीप सिकाउन लागेको बताए । उनले महानगरले गरेको लगानीको प्रतिफल दिने गरी सीप सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

उनले सिप सिकेर आत्मनिर्भर हुन सकिने उल्लेख गरे । कार्यक्रममा वडा सदस्य गायत्री थापा, गेनादेवी पासवान, वडासचिव सरस्वती ढकाल, प्रशिक्षक उमा बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने तालिममा २४ जना प्रशिक्षार्थी सहभागी भएका छन् ।