कोसी ब्यारेजमा मेला भर्नेको घुइँचो

सप्तरी । सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायत जलासय कोसी पम्प नहरमा नुहाएर आज पुसे पूर्णिमा मनाइँदै छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेजमा बिहानैदेखि कोसी स्नान तथा मेला भर्न आउनेको घुइँचो लागेको छ । ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ, भारतको पूर्णिया, फारबिसगञ्ज, मधुवनी, लौकही, लौकहा, खुटौना, अररिया, निर्मली, कुनौलीलगायत स्थानबाट मानिसहरु कोसीमा स्नान गर्न आएका छन ।

कौशिका माताका रूपमा कोसी नदीलाई पूजा गर्ने चलनअनुसार यस दिन कोसीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ । यस दिन मेलामा भुजा, चिउरा, पुरी, तरकारी, जेरीसहितका मीठाइ खाने गरिन्छ भने बढी श्रद्धालु घरबाटै मुरही, चिउरा, छोला तरकारी बोकेर जाने चलन छ ।