उर्लाबारीमा प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने

उर्लाबारी । मोरङको उर्लाबारीमा आगामी माघ १९ देखि २८ गतेसम्म १० दिने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव– २०७९ हुने भएको छ । उर्लाबारी उद्योग वाणिज्य सङ्घ उर्लाबारी–५ ले मङ्गलबार अन्तक्रिया कार्यक्रमको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो ।

उर्लाबारीको पहिचान झल्किने सामग्रीको प्रदर्शनीमा जोड दिँदै विभिन्न जातजातिका परिकार, रहनसहनलाई पनि प्रवद्र्धन गर्नुपर्नेमा छलफलमा सामेल सरोकारवाला संस्थाका प्रतिनिधिले जोड दिएका छन । महोत्सव स्थानीय औद्योगिक सामग्रीको प्रचारप्रसार र उर्लाबारीको पहिचानका लागि सञ्चालन हुने भएकाले यसलाई सफल पार्न यस क्षेत्रकै वासिन्दाको भूमिका रहने सङ्घका पूर्व अध्यक्ष प्रितम खड्गीले बताए ।

उर्लाबारी–४ स्थित नगरपालिका कार्यालय पूर्वपट्टि दुई बिघा क्षेत्रफलमा सञ्चालन हुने महोत्सवमा एक सय ५० कक्ष रहने तथा महोत्सवभरिमा रु २५ करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक तथा सङ्घका पूर्व अध्यक्ष भरत भट्टराईले जानकारी दिएका छन । महोत्सवले यहाँका पर्यटकीय क्षेत्र र उत्पादित सामग्रीको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने अपेक्षा लिएको छ ।