मोरङको रङगेलीबाट ३ सय किलो गाँजा बरामद

पथरी / प्रहरीले मोरङको रङ्गेली नगरपालिकास्थित बबियाबाट ३ सय किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ । अनुसार रङ्गेली १ बबियास्थित मनोज राजवंशीको घरमा लुकाएर राखिएको करिब ३ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले राजवंशीको कुखुराको खोर, गाई ग्वाल र परालको टारमा लुकाएर राखिएको अवस्थामा आइतबार गाँजा बरामद गरिएको जानकारी दिए । प्रहरीले सूचनाका आधारमा राजवंशीको घरमा बेलुका करिब साढे ४ बजेतिर छापामारेको थियो। यसक्रममा प्रहरीले २ जनालाई पक्राउ गरेको प्रहरी प्रमुख कोइरालाले जानकारी दिए । १५ वटा बोरामा राखिएको गाँजासँगै प्रहरीले राजवंशी र धनकुटाको शहिदभूमि गाँउपालिकाका हस्त राईलाई पक्राउ गरेको हो । घटनास्थलमा राईले प्रयोग गर्दै आएको प्रदेश १(०२(०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राईले धनकुटाका विभिन्न स्थानबाट गाँजा ल्याउने र राजवंशीले लुकाउनका लागि ठाउँ दिने गरेको खुलेको छ । हाल बरामद सामाग्री र पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहिका लागि मोरङ प्रहरी कार्यालयमा राखिएको छ ।