दोलखामा नेकपा माओवादीका गङ्गा कार्की निर्वाचित

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भए ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।