विभिन्न विपद्का घटनामा परि २ सय ७९ जनाले ज्यान गुमाए

नेपालमा यो वर्ष ६ महिनामा विभिन्न विपद्का घटनामा परि २ सय ७९ जनाले ज्यान गुमाएका छन् । ५ सय ९५ जना घाइते भएको तथ्याङ्क छ । बाढी÷पहिरो तथा चट्याङबाट मात्रै १ सय ८८ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परेर ३७ जना बेपत्ता रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । २०७२ सालको भूकम्पमा परि नेपालमा झन्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदालगायतमा क्षति पुगेको थियो ।

मानवीय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ । नेपालमा बाढी÷पहिरो, हिमपहिरो तथा भूकम्पको जोखिम उच्च छ । पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ ।
विपद्का बेला मानवीय क्षतिसँगै राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काममा ठूलो धन खर्च हुँदै आएको छ । प्राकृतिक प्रकोपसँग जुध्न नसकिने तर पूर्वतयारी तथा सावधानी अपनाएर क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा विज्ञले जोड दिँदै आएका छन्।