लुटेराको साथबाट १ सय ४३ तोला सुन र ६ लाख बरामद

ताप्लेजुङ ।
ताप्लेजुङमा प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट ६ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन बरामद गरेको छ । जिल्ला सदरमुकाम फुङ्लिङमा रहेको मनी ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न चार आरोपितमध्ये तीन जनालाई पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन्। फरार रहेका एक जनाको खोजी जारी रहेको प्रनाउ राईले जानकारी दिनुभयो ।

आरोपितले आईएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । आरोपितविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।