विराटनगरबाट दुई कैदीबन्दी फरार

विराटनगर ।
क्षयरोग निवारण संस्थामा उपचाररत दुई जना कैदीबन्दी फरार भएका छन् ।
उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । क्षयरोग देखिएपछि विराटनगरस्थित उक्त संस्थामा भर्ना गरिएको थियो ।

क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु शनिबार विहान फरार भएका हुन् ।

उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले फरार भएका कैदीबन्दीको खोजी तिब्र बनाइएको बताए । उनले सुरक्षामा खटिएका प्रहरीमाथि पनि छानबिन भइरहेको बताए ।