परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थाले

कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् ।
सञ्चारविज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२ दशमलव २, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले घटेको देखाएको छ भने समाचार ग्रहणका लागि यी माध्यमको प्रयोग मानिसले अनिवार्य नभइ आक्कलझुक्कलरूपमा गर्न थालेको पाइएको छ ।
यद्यपि समसामयिक सूचना र आएका सूचनाको विश्वसनीयताका दृष्टिले यी माध्यमको औचित्य कायमै रहेको देखिएको छ । सामाजिक सञ्जाल प्रयोग बढे पनि मानिसहरू त्यहाँ आउने सूचनालाई भरसक विश्वास गरिहाल्दैनन् ।
देशभरका १८ वर्ष उमेरमाथिका ५ हजार ५ सय ८२ जनाबीच स्थलगत अध्ययनका आधारमा ‘शेयरकाष्ट इनिसिएटिभ नेपाल’ले प्रकाशन गरेको ‘नेपाल मिडिया सर्वे–२०२२’ले केही त्यस्ता रोचक तथ्यहरू उजागर गरेको छ, जसले सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूको प्रयोग, विश्वासनीयता र सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरूका लागि भावी लक्ष्य कोर्न बाटो देखाइदिएको छ ।
अध्ययन प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागीमध्ये रेडियोको प्रयोगको सङ्ख्या ४५ दशमलव २ प्रतिशत, टेलिभिजनको प्रयोग ४८ दशमलव ५ प्रतिशत, मोबाइल र इन्टरनेटको प्रयोगको सङ्ख्या ६३ प्रतिशत र अनलाइन न्युज पोर्टल प्रयोगको ३० प्रतिशत र पत्रपत्रिका प्रयोग १५ प्रतिशतले गर्ने गरेका छन् ।
त्यही संस्थाले सन् २०२० मा गरेको यस्तै प्रकारको अध्ययनको तुलनामा रेडियो, टेलिभिजन र पत्रपत्रिकाका प्रयोगकर्ता घटेका छन् भने मोबाइल र सामाजिक सञ्जालको प्रयोगकर्ता बढेका छन् । अध्ययनले रेडियो र टेलिभिजन सेटबाट नभइ इन्टरनेटको प्रयोगबाट मोबाइलबाटै रेडियो सुन्ने र टेलिभिजन हेर्नेहरू पनि बढिरहेका छन् ।