सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
मङ्गलवार काठमाण्डौमा भएको नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । स्वास्थ्य पूर्वाधार सेवाको विस्तार र सुदृढीकरण गरी अहिले देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो । सबैको समन्वयबाट कोभिड–१९ र डेङ्गीलाई नियन्त्रण गरी देशलाई सामान्य अवस्थामा फर्काउन सफल हुने उहाँको विश्वास छ ।
प्रधानमन्त्री देउवाले सरकारले सुरुदेखि नै जनस्वास्थ्यका मापदण्डको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीको आपूर्ति÷वितरण र कोभिड १९ र डेङ्गी रोगका बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताउनुभयो । उहाँले कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेङ्गी रोगबाट पीडित हुन पुगेको भन्दै कोरोना र डेङ्गीबाट निधन भएका नागरिकप्रति श्रद्धाञ्जली पनि अर्पण गर्नुभयो ।