नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा रेडस्टार प्रथम

पथरी / पथरीशनिश्चरे नगरपालिकाद्वारा आयोजित ५८ औं बाल दिवसको अवसरमा रेडस्टार माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।

बुधबार पथरीको नर्वेदेश्वर शिवालय मन्दिर परिसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा रेडस्टारकी छात्रा सन्ध्या खड्का प्रथम भएकी हुन् । यस्तै द्वितीय पञ्चायत माविकी लियोना भट्टराई र तृतीय चन्द्र किरातेश्वर माविकी छात्रा निभा चेम्जोङ भए । बिजेताहरूले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुपैँया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए । ‘बालमैत्री समाज निर्माणमा स्थानीय सरकारको भूमिका’ विषयक सो वक्तृत्वकलामा सामुदायिक र संस्थागत गरी नगरका १४ वटा विद्यालय सहभागी भएका थिए ।

बालदिवशको अवसरमा आयोजित दुई दिवसीय कार्यक्रम अन्तर्गत हिजो अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको थियो । बुधबार भएको समापन सत्र पथरीशनिश्चरे नगर प्रमुख प्रशाशकीय अधिकृत लक्ष्मी प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नगरलाई बालमैत्री बनाउनका लागि कार्यालयको तर्फबाट गर्नुपर्ने सहजिकरणका लागि नगरपालिका सदैव तयार रहेको खरेलले बताउनुभयो ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष भिम कुमार राई, लेखा अधिकृत पिताम्बर वस्ती, बालबालिका शाखा प्रमुख गीता कटट्ेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नगर उपप्रमुख देवीमाया काफ्लेले अध्यक्षतामा सम्पन्न भएको हो ।