तरुण गोल्डकप : शुक्रबारको खेलमा बेलवारी ११ र पथरीशनिश्चरे ८ विजयी

पथरी / मोरङको भाउन्नेमा जारी प्रथम तरुण गोल्डकपको शुक्रबारको खेलमा बेलवारी ११ र पथरीशनिश्चरे ८ विजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा पथरीशनिश्चरे १० लाई २ गोलले हराउँदै बेलवारी ११ विजयी भएको हो ।

बेलवारी ११ का लागि बिक्रम धिमालले खेलको ३३ औँ मिनेटमा पहिलो गोल गरेका थिए । खेलको ३७ औँ मिनेटमा बेलवारीकै आशिष मगरले दोश्रो गोल गर्दै समुहलाई २–० को अग्रता बनाए । पथरीशनिश्चरे १० ले पटक पटक जाली चुम्ने अवसर पाएपनि गोल गर्न नसक्दा बेलवारी विजयी भएको थियो । खेलको म्यान अफ द म्याच बेलवारीका बिक्रम धिमाल घोषित भएका थिए ।

त्यस्तै दोश्रो खेलमा बेलवारी ४ लाई १–० को अन्तरले हराउँदै पथरीशनिश्चरे ८ विजयी भएको थियो । पथरीशनिशचरे ८ का खेलाडि सरोज राउतले खेलको २७ औँ मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाएका थिए । दोश्रो खेलको म्यान आफ द म्याच समिर याख्खा घोषित भएका थिए ।

प्रतियोगिताका विजेताले नगद २ लाख १ हजार सहित ट्रफी र मेडल तथा उपविजेताले नगद १ लाख १ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।नेपाल तरुण दल मोरङ क्षेत्र नं ३ को आयोजनामा भएको प्रतियोगितामा मोरङ क्षेत्र नं ३ का २६ वटा वडाले सहभागिता जनाएका छन् ।