आत्महत्या रोकथाम अभियान सञ्चालन हुने

आत्महत्या बढ्दै गएपछि प्रदेश १ सरकारले प्रहरीसँगको साझेदारीमा आत्महत्या रोकथाम तथा न्युनीकरण अभियान सञ्चालन गर्ने भएको छ । अभियान शनिबारदेखि सुरु हुने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले जानकारी दिए ।
उनका अनुसार गत वर्ष प्रदेश १ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका छन् । यो संख्या सातवटै प्रदेशको तुलनामा धेरै हो । आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि प्रदेशका सबै क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्न लागिएको डीआईजी गिरीले बताए ।
डीआईजी गिरीका अनुसार आर्थिक वर्ष २०७४–०७५ मा प्रदेश १ मा एक हजार १२० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७५–७६ मा एक हजार २३४, २०७६–७७ मा एक हजार ३४४ जनाले आत्महत्या गरेको तथ्यांक छ ।
गत आर्थिक वर्ष २०७८–०७९ मा एक हजार ४८९ र २०७७–०७८ मा सबैभन्दा बढी एक हजार ५१६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । पछिल्लो पाँच वर्षमा प्रदेश १ मा मात्रै ६ हजार ७०३ जनाले आत्महत्या गरेका छन् ।
यसरी आत्महत्या गर्नेहरुमा युवा धेरै रहेका छन् । ‘गत वर्ष १८देखि २४ वर्ष उमेर समूहका २८८ जना र २४ देखि ३० वर्ष उमेर समूहका २९२ जनाले आत्महत्या गरेको देखिन्छ,’ उनले भने, ‘युवा अवस्थाकाहरुको संख्या धेरै छ ।’
आत्महत्याका घटना अनुसन्धानमा प्रहरीको पनि कमजोरी रहेको डीआईजी गिरी स्वीकार गर्छन् । प्रहरीले आत्महत्याको कारणसम्म पुग्न नसकेको उनको भनाइ छ ।