तरुण गोल्डकप : उद्घाटन खेलमा बेलवारी १ विजयी

पथरी / नेपाल तरुण दल मोरङ क्षेत्र नं ३ को आयोजनामा मंगलवार भएको तरुण गोल्डकपको उद्घाटन खेलमा बेलवारी १ विजयी भएको छ । बेलवारी १० स्थित भाउन्नेको खेलमैदानमा भएको खेलमा पथरीशनिश्चरे ९ लाई १ गोलले हराउँदै विजयी भएको हो ।

खेलको २८ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै बेलवारी १ का खेलाडी विवेक पौडेल गोल गरेका थिए । तर खेलअवधिभर पथरीशनिश्चरे ९ ले गोल गर्न नसक्दा बेलवारी विजयी भएको हो । खेलका म्यान अफ द म्याच विवेक पौडेल घोषित हुँदै नगद १ हजार ५ सय प्राप्त गरे । बुधवारको पहिलो खेल पथरीशनिश्चरे १ र कानेपोखरी ७ र दोश्रो खेल बेलवारी २ र पथरीशनिश्चरे ४ विच हुने आयोजकले बताएको छ । खेलका विजेताले नगद २ लाख १ हजारसहित ट्रफि र मेडल प्राप्त गर्नेछन भने उपविजेताले नगद १ लाख १ हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा क्षेत्र नं ३ का २६ वटा वडाले सहभागिता जनाएका छन् ।