६० जिल्लामा भेटियो डेङ्गीका बिरामी

६० जिल्लामा डेङ्गीका बिरामी भेटिएको छ । पछिल्लो ८ महिनामा ९ सय ४ जनामा डेङ्गी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डाक्टर गोकर्ण गौतमले गएको पुसदेखि हिजोसम्ममा ९ सय ४ जनालाई डेङ्गी भएको जानकारी दिनुभयो । गएको वर्षको यो अवधिमा ५ सय ४० जनालाई डेङ्गी भएको थियो । यसपालि छिट्टै पानी पर्न थालेकाले लामखुट्टेलाई वृद्धि विकास गर्ने वातावरण बन्दा डेङ्गी पनि फैलिएको डाक्टर गौतमले बताउनुभयो ।
डेङ्गी फैलिन थालेपछि इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिरहेको छ ।
अघिल्ला वर्षहरुमा भदौदेखि सङ्क्रमण बढेको देखाएकाले पनि सङ्क्रमण बढ्न सक्ने अनुमान गरिएको छ । यसअघिका तथ्याङ्कले कात्तिक महिनाको अन्तिमसम्म पनि डेङ्गीका बिरामी भेटिएका देखाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पानी पर्ने र घाम लाग्ने क्रम नरोकिएकाले पनि डेङ्गीको जोखिम बढेको छ ।
ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने जस्ता डेङ्गीका लक्षण हुन् । यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय भएको डाक्टरले बताएका छन् ।