सप्तकोशी नदीको तटीय क्षेत्रमा हाई–अलर्ट

सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अर्थात् ’हाई–अलर्ट’ अपनाएको छ ।
पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत–साधन तयारी अवस्थामा राखिएको बताउनु भयो । प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै ’हाई–अलर्ट’मा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।
यसैबीच कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले ’हाई–अलर्ट’ जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा ’हाई–अलर्ट’ जारी गरिएको बताउनु भयो ।
सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।