मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्यकर्मीको टोली घरघरमा

विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्र्तगत मोरङ जिल्लामा ११ औं पटक अभियान संचालन भइरहेको छ । १० औं पटकसम्म संचालन भएको अभियान सफल हुन नसकेपछि ११ औं पटक अभियान संचालन गरिएको हो । यस पटकको अभियानलाई प्रभावकारी बनाउन मोरङ जिल्लाका पालिकाहरूले विशेष अभियान संचालन गरेको बताएका छन् । अभियानलाई सफल बनाउन घरघरमा स्वास्थ्य स्वंयम सेविका र स्वास्थ्यकर्मीको टोली गएर औषधी सेवन गराइरहेको पालिकाका स्वास्थ्य संयोजकहरूको भनाई छ । फागुन २८ गतेबाट सुरु भएको अभियान मोरङका प्रत्येक पालिकामा संचालन भइरहेको छ ।

बेलबारी नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंमसेवीका र स्वास्थ्यकर्मी प्रत्येक घरघरमा गएर औषधी सेवन गराइरहेको स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले बताए । उनले विगत वर्षहरूमा भन्दा अहिले औषधी खान आमनागरीक इच्छुक भएको पाइएको जानकारी दिए । नगरपालिकाले घरघरमा गएर अनुगमन गर्दा पहिलाको तुलनामा यसपटक नगरबासी औषधी खान इच्छुक देखिएको उनले बताए । गत फागुन २८ गतेबाट सुरु भएको अभियान अहिलेसम्म आइपुग्दा सन्तोषजनक रहेको उनले बताए । स्वास्थ्य स्वयंमसेवीका र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाइरहेको उनले बताए । बेलबारीमा हात्तीपाइले विरुद्धको औषधी खुवाउन ३५ जना महिला स्वयंम सेवीका र ६५ जना स्वास्थ्यकर्मी औषधि सेवन गराउन खटिरहेको उनले जानकारी दिए । उनले बेलबारी नगरपालिकाका नागरीकलाई ढुक्क भएर खान आग्रह गरेका छन् ।

‘नियम अनुसार ६ पटक खुवाउनुपर्ने अभियान हो’, विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीलिप यादव भन्छन्, ‘विभिन्न कारणले हामी सफल हुन सकेनौं, त्यसैले ११ औं पटक अभियान संचालन गरेका हौँ ।’ १४८ वटा केन्द्रबाट एकैपटक अभियान संचालन गरेको उनले बताए । उनले भने, ‘पहिलो दिन १५ हजार, दोस्रो दिन १९ हजार जनालाई औषधी सेवन गराउन सफल भएका छौँ ।’ शहरी क्षेत्रमा यसको कभरेज कम भएको अवस्थामा यस पटक घरघरमा गएर औषधी सेवन गराउने अभियान भइरहेको उनले बताए । विगतका वर्षमा दुई किसिमको औषधी थियो, उनले भने, ‘अहिले तीन किसिमको औषधी छ, जुन स्वास्थ्य स्वंयमसेवीका र स्वास्थ्यकर्मीको निगरानीमा खुवाइरहेका छौँ, पहिला उमेरको आधारमा खुवाइन्थ्यो भने अहिले उचाइका आधारमा खुवाइरहेका छौँ ।’ ‘केही व्यक्तिहरूमा त्रास देखिएको छ, कतिपयले यो औषधी रिसर्चको लागि हो भन्ने लागिरहेको छ’, उनले भने, ‘यो औषधी वर्षौँ वर्षदेखि प्रचलनमा आएको हो, यो नयाँ औषधी हैन, डराउनुपर्ने अवस्था छैन, कसैको शरीरमा परजीवि रहेछ भने हल्का ज्वरो आउने, टाउको दुख्ने हुन सक्छ, यसमा डराउनु पर्ने अवस्था छैन, निर्धक्क भएर औषधी खाँदा हुन्छ ।’

बूढीगंगाका गाउँपालिकामा रहेका ७ वडामा रहेका स्वास्थ्य संस्थाप्रमुखको नेतृत्वमा महिला स्वंयमसेवीका र स्वास्थ्यकर्मी परिचालन गरेर औषधी सेवन गराइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक बाशुदेव रेग्मीले बताए । अहिले खुवाइरहेको औषधी पहिलाको भन्दा तीन गुण बढी प्रभावकारी रहेको उनको भनाइ छ । उनले भने, ‘पहिला ६ पटक खुवाउनुपर्ने अवस्थामा अहिलेको औषधी दुई पटक मात्र खुवाइयो भने पनि राम्रो नतिजा दिन्छ ।’

यस्तै धनपालथान गाउँपालिकाका ७ वटै वडामा स्वास्थ्य स्वंयमसेवीका र स्वास्थ्यकर्मी परिचालन गरेर अभियान चलाइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराज सेठले बताए । अभियान चलेको ४ दिनसम्ममा २५ हजारभन्दा बढी नागरीकले औषधी सेवन गरिसकेको उनले बताए । हात्तीपाइले रोग लागिसकेपछि निको नहुने भएकाले सबैलाई ढुक्क भएर औषधी खान आग्रह गरिरहेको उनले बताए ।

हात्तीपाइले रोग विरुद्धको औषधी सेवनका लागि विभिन्न सुचना प्रवाह गर्दा समेत जनमानसमा खानु हुँदैन भन्ने सोचाइ देखिएको ग्रामथान गाउँपालिकाका स्वास्थ्य सह–संयोजक कल्पना घिमिरेले बताइन् । उनले भनिन्, ‘सचेत नागरीक नै यो औषधी खानु हुँदैन भन्ने सोचाइमा रहेको पाइन्छ, अहिले पनि औषधी खुवाउन कठीनाई नै भइरहेको छ ।’ ग्रामथानमा ७० जना स्वास्थ्यकर्मी र ५४ जना महिला स्वयंम सेवीकाको टोलीले घरघरमा गएर औषधी खुवाइरहेको उनले बताइन् । उनले भनिन्, ‘हामीले अनुगमन पनि गरिरहेका छौँ, कुनै घरमा मान्छे नभेटिएको खण्डमा कतिखेर आउछन्, त्यहि समयमा गएर खुवाउने गरिएको छ ।’ विगतको तुलनामा अहिले अभियान प्रभावकारी भइरहेको उनले बताइन् ।

विगतको तुलनामा यसपटक हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान प्रभावकारी नै रहेको जहदा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले बताए । गाउँपालिकाका ७ वडा बाटामा ४१ जना महिला स्वास्थ्य स्वयंमसेवीका र ४१ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले बताए । उनले भने, ‘औषधी खुवाउन जाँदा खाली पेट छ भनेर खान नमान्ने धेरै पाइयो, त्यसैले गाउँपालिकाबाट रकम विनियोजन गरेर औषधी खुवाउन जाने स्वंयमसेवीका र स्वास्थ्यकर्मीले विस्कुट लिएर जाने गर्नुभएको छ, खाली पेटमा छु भन्नेलाई बिष्कुट खुवाएर औषधी सेवन गराइरहेका छौँ ।’ उनले दैनिक रिर्पोट हेर्दा विगतको तुलनामा अभियान प्रभावकारी नै देखिएको बताए ।

प्रत्येक वडामा महिला स्वयंमसेवीका र स्वास्थ्यकर्मीको टोली घरघरमा परिचालन गरेर औषधी सेवनको अभियान संचालन भइरहेको कानेपोखरी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र कुमार राजभण्डारीले बताए । विगतका तुलनामा अभियान प्रभावकारी भइरहेको उनको भनाई छ । उनले भने, ‘केही समस्या त भइरहेको छ, तर विगतको तुलनामा प्रभावकारी नै छ ।’

विगतका तुलनामा फरक किसिमले अभियान संचालन गरिरहेको केराबारी गाउँपालिकाका स्वास्थ्य संयोजक टोम प्रसाद चौलागाइले बताए । तीन दिनको अबधिमा करिब १० हजार बढीलाई हात्ती पाइले विरुद्धको औषधी सेवन गराइसकेको उनले बताए । उनले भने, ‘पहिलाको तुलनामा नागरीक पनि सचेत देखिएका छन्, औषधी खुवाउन खासै समस्या देखिएको छैन ।’

यस्तै लेटाङ नगरपालिकामा पहिलाको तुलनामा प्रभावकारी देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक दिनेश कुमार चौधरीले बताए । औषधी खुवाउन व्यापक तरिकाबाट अभियान संचालन गरेको बताउँदै उनले भने, ‘पहिलाको जस्तो भ्रम देखिएको छैन, यो अभियानले सरकारले राखेको लक्ष्य पुरा हुन्छ भन्ने आशा छ ।’ ११ औं पटकको अभियान सुरु भएको दिनदेखि हालसम्म क्रममा ४० प्रतिशत नागरिकले औषधि सेवन गरिसकेको उनको भनाई छ ।

मिक्लाजुङ गाउँपालिकामा प्रभावकारी तरिकाले हात्तीपाइले विरुद्धको औषधी सेवन कार्यक्रम संचालन भइरहेको स्वास्थ्य संयोजक चिन्तामणी पोखरेलले बताए । गाउँपालिकामा औषधी सेवनको लागि ५० जना स्वास्थ्यकर्मी र २८ जना महिला स्वास्थ्य स्वंयमसेवीका परिचालन गरिएको उनले बताए । यस अभियानलाई सफल पार्न जनप्रतिनीधि, पार्टी प्रतिनीधि, संचारकर्मीको टिम एकजुट भएर लागिपरेको उनले बताए । हात्तीपाइलेको औषधी प्रति आम नागरीकमा भएको भ्रम चिर्न विभिन्न सचेतनामुलक कार्यक्रम गरेको उनको भनाइ छ ।

यस्तै पथरी शनिश्चरे नगरपालिकामा ११ औं पटकको अभियान अन्र्तगत ५० प्रतिशतले हात्तीपाइले विरुद्धको औषधी सेवन गरिसकेको स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए । स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेवीकाको टोली घरघरमा गएर औषधी सेवन गराइरहेको उनले बताए । विगतका वर्षहरूमा निश्चित ठाउँमा खुवाउने गरिएको भएपनि अहिले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वंयमसेवीकाले घरघरमा गएर भ्रम चिर्ने काम गरिरहेको स्वास्थ्य संयोजक आचार्यले बताए ।

३७ जना स्वास्थ्यकर्मी र ३६ जना महिला स्वंयमसेवीकाको टोलीले दुईदिन निश्चित ठाउँमा बुथ राखेर औषधी खुवाएपनि अहिले घरघरमा गएर हात्तीपाइले विरुद्धको औषधी खुवाइरहेको रंगेली नगरपालिकाका स्वास्थ्य संयोजक ब्रजेश कुमार मेहताले बताए । नगरपालिकामा हात्तीपाइले रोगको किटाणुहरू देखिइरहेकाले सबैले हल्लाको पछि नलागि ढुक्क भएर औषधी खान आग्रह गरिएको उनले बताए ।

यसैगरी विगतका वर्षको तुलनामा यसपटक हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान प्रभावकारी भइरहेको रतुवामाई नगरपालिकाका स्वास्थ्य संयोजक सन्तोष कुमार शाहले बताए । नगरपालिका भित्र रहेका १० वटा वडामा ४४ जना महिला स्वास्थ्य स्वंयमसेवीका र ७५ जना स्वास्थ्यकर्मीको टोलीले घरघरमा गएर औषधी सेवन गराइरहेको उनले बताए । विगतका वर्षहरूमा हात्तीपाइले रोग विरुद्धको औषधी प्रति आम नागरीकको नकारात्मक धारणा थियो, उनले भने, ‘अहिले विगतमा भन्दा धेरै नागरीक सचेत देखिएका छन् ।’

महिला स्वास्थ्य स्वंयमसेवीका, स्वास्थ्यकर्मी र विभिन्न सहयोगी संस्थाको सहयोगमा सुनवर्षी नगरपालिकाका हात्तीपाइले विरुद्धको औषधी खुवाइरहेको स्वास्थ्य संयोजक किशोर कुमार मण्डलले बताए । यो पटक प्रत्यक्ष निगरानीमा नै औषधी खुवाइरहेको उनले जानकारी दिए । घरघरमा गएर समेत अभियान संचालन भइरहेको उनको भनाइ छ ।