संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

संखुवासभा, फाल्गुन २६ गते ।
संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्ती स्थित भित्री सडक खण्डमा बस दुर्घटना हुदा चालक सहित १४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने घाइते ५ जना मध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मादी नगरपालिका–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता विक, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहालको घटनास्थलमै मृत्यु भएको छ ।
घटनास्थलमै मृत्यु हुनेहरुमा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराई, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सविता राउत कार्की, ६० वर्षीय बलबहादुर कार्की, तेह्रथुम औशीडाँडाका ३५ वर्षीय विपिन निरौला, ताप्लेजुङकी ३१ वर्षीय समीक्षा योन्जन र ताप्लेजुङकै ८ वर्षीय सुदीप घिसिङ पनि रहेका छन् ।
त्यस्तै मादी नगरपालिका–५ कि ३० वर्षकी युका पोखरेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।
आज बिहान पौने ८ बजे मादीबाट झापा तर्फ आउदै गरेको बा.४ख ७३५ नम्वरको यात्रु वाहक बस सडकबाट अन्दाजी ३०० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएकालाई प्रहरीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाईएको छ ।
दुर्घटनामा घाइते मादी नगरपालिका–५ बस्ने ३० वर्षीय सुवास गोले, मादी–६ की २२ वर्षीय तुलसा कटुवाल, अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्कीको धरानमा उपचार भइरहेको छ ।
घटना स्थलमा तत्कालै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी सहितको टोली र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक सहितको टोली खटि मृतक तथा घाईतेहरुको उद्धार गरिएको हो ।