बेलबारीमा एमालेबाट निर्वाचित जनप्रतिनिधि थापा नेकपा (एस) प्रवेश

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि खिनामाया थापा नेकपा एकिकृत समाजबादी पार्टी प्रवेश गर्नुभएको छ । गएको स्थानीय तहको निर्वाचनमा बेलबारी नगरपालिका वडा नं २ बाट वडा सदस्यमा निर्वाचित भएकी थापा आइतबार समाजबादीमा प्रवेश गर्नुभएको हो ।

समाजबादी मोरङ जिल्ला इन्चार्ज तथा पुर्व सांसद हर्कमान तामाङले थापालाई पार्टीमा स्वागत गर्नुभएको थियो । नेकपा एमालेबाट फुटेर नेकपा समाजवादी गठन हुँदा निर्वाचन आयोगले समाजवादी गठन गर्न भनेर दिएको समयमा पनि नयाँ पार्टी नरोजेकी थापाले अहिले पार्टी प्रवेश गर्नुभएको हो । नेकपा एमालमा कम्युनिष्ट चरित्र हराउँदै गएर व्यक्तिवादी चरित्र हावी भएकोमा आफ्नो असन्तुष्टी रहेकोले समाजवादी प्रवेश गरेको थापाले बताउनुभयो । लामो समयदेखि एमालेमा संगठित भएर काम गरेको भएपनि पछिल्लो समयमा एमालेले पार्टी गतिविधिमा आफुलाई वेवास्ता गर्न थालेको समेत थापाको गुनासो थियो । थापा नेकपा एमाले र नेकपा माआवोदी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपाको बेलबारी वडा नम्बर २ की सहइन्चार्ज रहनुभएको थियो ।

बेलबारी २ लालभित्ती स्थित पुर्वसांसद तामाङको निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका बेलबारी नगर इन्चार्ज कमल कोइराला, नगर अध्यक्ष भुपाल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।