‘ए’ डिभिजन लिगः मछिन्द्र र संकटाको बराबरी

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले संकटा क्लबसँग बराबरी खेलेको छ । मछिन्द्रले संकटासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसर गुमाउँदा अंक बाड्न बाध्य बनेको हो ।

जारी लिगमा अपराजित रहेको मछिन्द्रको यो दोस्रो बराबरी हो । यसअघि मछिन्द्रले आर्मीसँग गोलरहित बराबरी खेलेको थियो । अपराजित नै रहेको संकटाको भने यो तेस्रो बराबरी हो । संकटाले हिमालयन शेर्पा र मनाङसँग बराबरी खेलेको थियो । यो बराबरसँगै मछिन्द्रले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने मौका गुमाएको छ ।

मछिन्द्रले एक खेल कम खेलेको मनाङलाई १ अंकले पछि पारेको छ ।