काँकडभिट्टाबाट ४ महिनामा ५ करोड रुपैयाँभन्दा धेरैको कोदो नेपाल भित्रियो

पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच करोड रुपैयाँभन्दा धेरैको कोदो नेपाल भित्रिएको छ ।
क्वरेण्टीन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन, भदौ, असोज र कात्तिक महिनामा पाँच करोड १५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको एक हजार ६ सय १० मेट्रिकटन कोदो आयात भएको हो ।
अघिल्लो वर्ष चार महिनामा चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५ सय ७० मेट्रिकटन कोदो आयात भएको थियो ।
क्वरेण्टीन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तराखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताउनुभयो । नेपाल २० वर्ष अघिसम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर थियो तर हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री हुन थालेको व्यवसायीको भनाइ छ ।