२४ घण्टामा नेपालमा नौ जना कोरोना सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा नौ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय नौ पुगेको छ ।


थप तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४४ प्रतिशत अर्थात् तीन सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार ६ सय ९९ जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा एन्टिजेनबाट पुष्टि भएको विवरण छुट्टै सार्वजनिक गरे पनि उनीहरू निको भएको विवरण भने सार्वजनिक गरेको छैन ।

यस्तै २४ घण्टामा दुई सय ७३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ सय ९० पुगेको छ । अहिले नेपालमा सात हजार तीन सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।