पाँचथरको फिदिममा नोबेलको निःशुल्क स्वास्थ्य शिविर सुरु

पाँचथर ।
पाँचथरको फिदिममा आइतवारदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरु ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका वडा नं.८ ले शिविर आयोजना गरेको हो ।

फिदिम–८ स्थित इथुङ माध्यमिक विद्यालयमा आयोजित शिविरको पूर्व मन्त्री बसन्त नेम्वाङ्गले नेपालको झण्डा फहराएर उद्घाटन गरेका छन् । कार्यक्रममा पूर्व मन्त्री नेम्वाङ्ग, प्रदेश सभा सदस्य आशारत्न जवेगु, फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ्ग, नोबेल अस्पतालका प्रवन्धक नारायण दाहाल लगायतले निःशुल्क स्वास्थ्य शिविरबाट बिपन्न विरामीहरुले धेरै फाइदा लिनसक्ने बताए ।
शिविरको पहिलो दिन १ हजार १ सय ५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रवन्धक दाहालले जानकारी दिए । उनका अनुसार २०७ जनाको भिडियो एक्सरे, २०३ जनाको रक्त परीक्षण र १९२ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । त्यस्तै १३ जना विरामीको आँखाको सामान्य शल्यक्रिया गरिएको छ । यता, दाँतमा समस्या भएर आएका २१ जना विरामीको दाँत उखेलिएको आयोजकले जनाएको छ ।
शिविरमा नोबेलको जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग लगायत बिभागका बिशेषज्ञ डाक्टरहरु सहभागि छन् । सोमबारसम्म सञ्चालन हुँने शिविरमा करिब दुई हजार विरामीको निःशुल्क उपचार गर्ने आयोजकको लक्ष्य छ ।