नोबेलले कर्मचारीलाई बाढ्यो ७ करोड ५७ लाख बोनस

बिराटनगर ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आफ्ना कर्मचारीहरुलाई बोनस बापत ७ करोड ५७ लाख रकम वितरण गरेको छ । मुनाफा र चाडपर्व बोनस बापत नोबेलले कर्मचारीहरुलाई ठूलो रकम वितरण गरेको हो ।

मुनाफा बापत ६ करोड २४ लाख ९ हजार ६ सय ९० रुपैयाँ र चाडपर्व बोनस बापत १ करोड ३२ लाख ९४ हजार ५ सय ५० गरी कुल ७ करोड ५७ लाख ४ हजार २ सय ४० रुपैयाँ बोनस वितरण गरिएको नोबेलले जनाएको छ । कर्मचारीहरुलाई बेसिक तलबको ३०९ प्रतिशत रकम बोनस बापत वितरण गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।
नोबेलका १ हजार ४ जना कर्मचारीले तीन महिनाको बेसिक तलब बराबरको रकम बोनस बापत पाएका हुन् । ९ सय ८८ कर्मचारीले मुनाफा बोनस पाएका छन् भने १ हजार ४ जना कर्मचारीले चाडपर्व बोनस पाएका छन् ।
प्रत्यक्ष रोजगार र अन्य संस्थामार्फत सम्झौता भएर काम गर्ने गरी नोबेलमा करिब १६ सय कर्मचारी कार्यरत छन् । कर्मचारीको तलबमा मात्रै मासिक करिब ७ करोड रकम खर्चिदै आएको नोबेलले हरेक बर्ष कर्मचारीहरुलाई बोनस वितरण गर्दै आएको छ ।