सङ्खुवासभा सामूहिक हत्याकाण्डका मुख्य योजनाकारसहित ४ सार्वजनिक

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका मुख्य योजनाकारसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय खाँदबारीमा सोमबार पत्रकार सम्मेलन गरी हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेको आरोपमा मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको एसपी भीम दाहालले बताए ।
घटना हुनुअघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलको हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना रहेको प्रहरीले भनेको छ ।

२१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो । अन्य केही व्यक्तिहरू माथि प्रहरीले अनुसन्धान थालेको थियो ।