देशभर १२ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर एन्टिजेन र पीसीआर गरी ११ हजार नौ सय ४४ जनाको नमुना परीक्षण गर्दा १२ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव ६४ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका थपिने सङ्क्रमितभन्दा निको हुनेहरू धेरै भएका छन् । २४ घण्टामा एक हजार आठ सय ४५ जना निको भएका छन् भने एक हजार दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । १८ सय ४५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेकोे सङ्ख्या सात लाख ३५ हजार ६ पुगेको छ । नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६० हजार आठ सय ६ पुगेको छ ।
यस्तै यही अवधिमा थप १४ जनाले सङ्क्रमणबाट ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय तीन पुगेको छ । अहिले २८ हजार ६ सय ७८ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ५८ जनाको आईसीयू र एक सय ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।