केएमसीमा तीज विशेष कार्यक्रम

काठमाडौं ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सोमबार हरितालिका तीज विशेष कार्यक्रम गरिएको छ । तीज गीतमा नाचगान तथा शुभकामना आदान–प्रदान गरी स्वास्थ्य सावधानी अपनाउँदै तीज मनाइएको हो ।

महिला डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई लक्षित गरी केएमसीले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा केएमसीका हस्पिटल डाइरेक्टर डा. सुमन कुमार श्रेष्ठ र जेनेरल मेनेजर नारायण दाहाल लगायतले मन्तव्यमार्फत सम्पूर्ण महिला डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई तीजको शुभकामना दिए ।
कार्यक्रममा महिलाहरुले तीज गीतमा नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा अस्पतालको तर्फबाट तीन सयभन्दा बढी महिला डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई तीजको दर स्वरुप खानेकुराको प्याकेट वितरण गरिएको छ ।
आगामी बिहिबार हरितालिका तीज परेको छ । तीज आउनुभन्दा हप्तौं अघिदेखि विभिन्न कार्यक्रम गरेर महिलाहरुले तीज मनाउँदै आएका छन् ।