बेलबारी बोयर काण्डमा मेयर,कर्मचारी र ठेकेदारको मिलेमतो : छानविन समिति,प्रतिवेदन सार्वजनिकमा लफडा


बेलबारी बोयर काण्डको छानविन प्रतिवेदन सार्वजनिक गर्ने विषयमा संकास्पद व्यवहार देखाएको बेलबारी नगरपालिकाले अन्ततः प्रतिवेदनको मर्मलाई नै बंगाएर जनप्रतिनिधि र कर्मचारी चोख्याउने गरी सार्वजनिक गरेको छ । गत भदौ ६ गते बोयर बोकाबाख्रा छानविन समितिले बुझाएको प्रतिबेदन नगरपालिकाले भदौ २० गते आइतबार नै सार्वजनिक गर्ने भनेको थियो । तर, प्रतिवेदन सार्वजनिक गर्ने बारेमा भएको गलफदीका कारण सोमबार विहान ११ बजे सार्वजनिक गर्ने मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिएका थिए । छानविन समितिको प्रतिवेदनको भाषालाई आफु अनुकुल बनाएर सार्वजनिक गर्ने रणनितिमा मेयर सुवेदी सहितको नगरपालिका नेतृत्व लागेपछि छानविन समितिका सदस्यहरुले भने समितिको प्रतिवेदन हुबहु पुर्णपाठ सार्वजनिक गरिनुपर्ने अडान राखेका थिए ।
समितिले नगरपालिकामा पेस गरीसकेको प्रतिवेदन अब नगरले चाहेको मर्म,भाषा र शैलीमा सार्वजनिक गर्ने भनेर तयारी गरेपछि समितिका सदस्यहरुले प्रतिवेदनको कुनैपनि विषय परिवर्तन गर्न नहुने अडान लिएका थिए । सोमबार दिउँसो सार्वजनिक गर्नेक्रममा प्रतिवेदन तोडमोड भएको थाहा पाएपछि समितिका सदस्यहरु किशोर भण्डारी,राजेन्द्र अधिकारी र केशव थापामगरले प्रतिवेदन सार्वजनिक कार्यक्रम नै वहिष्कार गरेका थिए । यति मेहनत र समय खर्चेर ल्याइएको प्रतिवेदनको आंसिक अंसमात्रै सार्वजनिक भएपछि आफुहरु वाहिरिएको ती सदस्यहरुले सामाजिक सञ्जालबाटै जानकारी गराएका थिए ।
नगर कार्यपालिका सदस्य एवम् छानविन समितिमा संयोजकको भुमिकामा रहेकी विन्दुकला गुरुङले प्रतिवेदनको निष्कर्ष तथा सुझावहरु बाचन गरेकी थिइन् । नगरपालिकाले प्रतिवेदनको निष्कर्ष र सुझाव भन्दै ५ पृष्ठ लामो विवरण सार्वजनिक गरको हो । तर, नगरपालिकाको यो कार्यप्रति प्रतिवेदनका मुल विषयहरु हेर्न भ्याइसकेका नगरका कर्मचारीहरु नै चकित छन् । अघिल्लो दिननै प्रतिवेदनबारे जानकारी लिइसकेका ती कर्मचारी भन्छन् ‘वास्तविक प्रतिवेदनको निष्कर्षलाई बंग्याउने र सुझावको भाषा शब्दावली नै परिवर्तन गरिएको छ ।’
उनका अनुसार बोयर बोकाबाख्रा खरिद प्रकरणमा प्रतिवेदनले मेयरसहित नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत समेतका कर्मचारीलाई लाई दोषी ठहर गरेको छ भने केही कर्मचारीलाई कारवाहीको समेत सुझाव दिएको छ । तर,नगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदनको सारांसमा नरम शब्द प्रयोग गरिएको छ,कारवाही सिफारिस गर्ने भन्ने ठाउँमा सजग गराउने, कारवाही सिफारिस गरिएका कर्मचारीका नामहरु हटाइएको ती कर्मचारी बताउँछन् ।
ति कर्मचारीले बताए अनुसार छानविन समितिले दिएको प्रतिवेदनका वास्तविक विषयहरु यस्ता छन् ः
बोकाबाख्रा खरिद प्रकरणमा नगरप्रमुख ज्ञानेन्द्र सुवेदी,प्रमुख प्रसासकिय अधिकृत प्रदिपकुमार शाह समेतले ठेकेदार समुह सँगको मिलेमतोमा अनियमितता गर्न खोजेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । मेयर सहितको नगरपालिका नेतृत्वले नक्कली कागजातका आधारमा मापदण्ड समेत पुरा नगरेको नक्कली ठेकेदार समुहलाई मिलेमतोमै रकम भुक्तानी गर्न खोजेको समितिको निष्कर्ष छ । जनस्तरबाट भएको तिब्र विरोधका कारणमात्रै रकम भुक्तानी गर्नबाट नगरपालिका पछि हटेको समितिको ठहर छ । ठेकेदार समुह बनेर पेस गरिएका नक्कली कागजातहरुलाई नगरपालिकाले नै वैधता दिएको र आधिकारिकता नै नभएका कथित प्रतिनिधिहरु प्रतिको अगाध विश्वास हेर्दा बोयर बोकाबाख्रा खरिदमा नगरपालिका र सो कम्पनीविच रहस्यमय मिलेमतो देखिएको पनि समितिको निष्कर्ष रहेको नगरका कर्मचारी बताउँछन् ।
‘कानुनी प्रकृया चलाउँदै जायँ तर फास्टट्रयाकबाट बोकाबाख्रा ल्याउ भनी सल्लाह तथा हौसल्ला दिने र आफै नेतृत्व पनि गर्ने नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले अब यस्तो गल्ति नदोहोर्याउन प्रतिवद्धता जनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।नगरप्रमुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिले कुनैपनि दलाल वा विचौलियाहरु वा सरोकार नै नभएका व्यक्तिसँग होटल वा लज वा अन्यत्र सम्झौता वा संगत वा सौदावाजी गर्ने जिम्मेवारी दिने कार्य गर्न गराउन नहुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।’ ति कर्मचारीले जानकारी दिएका छन् ।
नगरप्रमुखले कानुन विपरितका कार्य गर्न सरसल्लाह दिँदा सहमति जनाउने प्रमुख प्रसासकिय अधिकृत प्रदिपकुमार शाह,बोका खरिद प्रक्रियाको मुल्यांकन समितिका संयोजक तथा नगरका सामाजिक विकास शाखाका प्रमुख महेन्द्र खड्का,लेखा प्रमुख धनमाया राई,योजना शाखा प्रमुख झमक भट्टराई,इन्जिनियर बालकृष्ण निरौला र पशुविकास शाखा प्रमुख बाबुराम बस्नेतलाई विभागिय कारवाही गर्ने वा कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
यसै प्रकरणमा कर्मचारीहरु दयाराम आचार्य,कृष्ण न्यौपाने,योगेन्द्र गौतम,गंगा गौतम,रामविलास मल्लिकलाई जिम्मेवारी प्रति सचेत गराउन प्रतिवेदनले भनेको छ ।