काँकरभिट्टामा ३५ अर्ब ८५ करोड व्यापार घाटा

झापा ।
झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा गत आर्थिक वर्ष २०७७÷०७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको हो ।

सो नाकाबाट गत आर्थिक वर्ष २०७७÷०७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार यो नाकाबाट गत आवमा ४८ अर्ब पाँच करोडको वस्तु आयात भएको छ भने १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको छ ।
आव २०७६÷७७ को तुलनामा आव २०७७÷७८ मा ९ अर्ब ६५ करोडले आयात बढेको छ भने निर्यात तर्फसमेत चार अर्ब बढेको छ । काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए ।