काबुल विष्फोटका प्रमुख योजनाकार मारिएको अमेरीकाको दाबी

अमेरिकाले पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ ।
अमेरिकी सेनाका अनुसार इस्लामिक स्टेट खुरासन (आईएस–के) लाई लक्षित गरिएको नान्गहार प्रान्तमा उक्त ड्रोन आक्रमण गरिएको हो । आईएस–के आतंकवादी संगठन आईएसको खुरासन प्रान्तको एक भाग हो ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा भएको आक्रमणको मूल्य आईएस–केले चुकाउनुपर्ने चेतावनी दिएका थिए । अमेरिकी सेनाले आईएस–केलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा कोही पनि सर्वसाधारणको मृत्यु नभएको बताएको छ ।
बिहीबार काबुलको विमानस्थल बाहिर भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी आईएस–केले लिएको थियो । उक्त आक्रमणमा १७० जनाको मृत्यु भएको थियो ।