एमाले २ जेठ २०७५ को संरचनामा फर्कियो

नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएको छ । साथै विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति समेत तोकेको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनस्र्थापित एमालेको स्थायी कमिटीको मंगलबारको बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ दलमा नगएका स्थायी कमिटीका १० नेता सहभागी भएका थिए । उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, अमृतकुमार बोहोरा (अनुशासन आयोगका प्रमुख) झण्डै ६ महिनापछि पार्टीको स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।
नेकपा एमालेको दशौँ महाधिवेशन आउँदो मङ्सिर १०, ११ र १२ गते आयोजना हुने तय भएको छ । ललितपुरमा आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले मङ्सिरमा हुने दशौँ महाधिवेशनका लागि विधान संशोधन महाधिवेशनको मिति सारेर असोज ५ र ६ गतेलाई पनि तोकेको छ । पालिकाको अधिवेशनको मिति पनि सरेको एमालेले जनाएको छ ।

बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि ६ सदस्यीय उच्चस्तरीय कार्यदल बनाएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन् । कार्यदलले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनको सिफारिससमेत गर्नेछ ।