बेलबारी सहित मोरङको उत्तरी क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै

केही दिनदेखि मोरङका उत्तरी क्षेत्रमा कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । मोरङको उत्तरी तथा पूर्व पश्चिम राजमार्ग आसपासका पालिकामा कोरोना सङ्क्रमणको दर जिल्लाको अन्य क्षेत्रको तुलनामा बढी देखिएको हो ।

उर्लाबारी, पथरी, लेटाङ, बेलबारी र सुन्दरहरैँचा नगरपालिकामा सङ्क्रमितको सङ्ख्या पहिलेको तुलनामा बढेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेपनि अवस्था विगतको जस्तो भने नभएको तर स्वास्थ्य मापदण्ड पालना र व्यक्तिको दैनिक क्रियाकलापमा सचेत रहनु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
“स्थिति भयावह हुन सक्ने कुरालाई मध्यनजर गरेर सबै पक्षले थप सर्तकता अपनाउनु पर्ने देखिएको छ,” प्रजिअ निरौलाको भनाइ छ ।

केही दिन यता मृतकको सङ्ख्या पनि बढ्न थालेकोले यस अघिकै जस्तो सङ्क्रमणको उच्चतम अवस्था आउन सक्नेतर्फ प्रशासन सचेत रहेको प्रजिअ निरौलाले जानकारी दिनुभयो । “पछिल्लो समय कोसी कोभिड अस्पतालमै धेरै सङ्क्रमितको उपचार भएको छ,” उहाँले भन्नुभयो ।
गोरखापत्रबाट