देशभर थप ३ हजार ४ सय ५१ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ९३ जनाको पीसीआर र पाँच हजार पाँच सय १८ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १० हजार आठ सय ५३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार चार सय ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८५ हजार एक सय ४० पुगेको छ ।
यही अवधिमा कोरोना सङ्क्रमणका कारण ३५ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय २७ जना पुगेको छ ।
यस्तै अहिले नेपालमा ३९ हजार तीन सय ७१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९५ जनाको आईसीयू र एक सय ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।