मोरङको टंकिसिनुवारीबाट विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु

नेपाल विद्युत् प्राधिकरणले मोरङको टंकिसिनुवारीबाट विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो ।

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शुक्रवार परीक्षण उत्पादनको निरीक्षण गरी नियमित रूपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले प्लान्टबाट पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गर्नुभयो ।

प्लान्टबाट विद्युत् वितरणमा प्रयोग हुने आठ, नौ र एघार मिटरका पोलहरू उत्पादन हुनेछन् । १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार पाँच सय ८० थान रहेको छ ।
प्लान्टबाट उत्पादित पोलहरू मुख्य रूपमा प्रदेश नं १ र र २ का जिल्लामा आपूर्ति गरिने बताइएको छ ।