महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सत्तारुढ नेपाली कांग्रेसले चौधौं महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्ने विषयमा अझै सहमति जुटाउन सकेको छैन । अस्तिदेखि चलिरहेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्पर विरोधी धारणा आएका छन् ।
शुक्रबारको बैठकमा संस्थापन पक्षका नेताहरुले आउँदो मंसिरभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेपछि महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका ल्याउनुपर्ने बताएका छन् । तर रामचन्द्र पौडेल पक्षले भने भदौ २३ देखि महाधिवेशनको प्रक्रिया सुरु गरी दसैंअघि नै सक्नुपर्नेमा जोड दिएको छ ।
क्रियाशील सदस्यसम्बन्धी विवादका कारण कार्यतालिका प्रभावित भएपछि अब के गर्ने भन्नेबारे कांग्रेस केन्द्रीय समितिमा दुई धार देखिएको छ । पौडेल पक्षधरले पार्टीलाई वैधानिक सङ्कटमा पर्न नदिन भदौ २३ अघि नै महाधिवेशन प्रक्रिया थाल्नुपर्ने प्रस्ताव गरेको छ ।
संस्थापन पक्षले चाहिँ प्रक्रिया सुरु गर्ने तर त्यसलाई मंसिरसम्म पुर्याउनुपर्नेमा जोड दिएको छ । पार्टी विधान अनुसार चार वर्षमा गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्ष बित्दा पनि अनिश्चित बनेको छ । विधानअनुसार आउँदो भदौ १९ भित्र महाधिवेशन भइसक्नुपर्छ । तर भदौ १६ देखि १९ गतेसम्म तोकिएको कांग्रेसको चौधौं महाधिवेशन अनिश्चित भएको छ ।