सुनसरीमा एक महिनामा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ

सुनसरी प्रहरीले एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेका छन् । विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरु छन् । त्यसैगरी कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग र भ्रष्टाचार जस्ता मुद्दामा सजाय पाइ फरार प्रतिवादी समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेकाहरुबाट ९ लाख ३५ हजार ३ सय १९ रुपैंया जरिबाना असुल भएको जनाएको छ । प्रहरीले पक्राउ परेका सबैलाई अदालत बुझाएको जनाएको छ । सुनसरी प्रहरीका अनुसार जिल्लामा चार हजार २ सय जना फरार प्रतिवादी छन् ।