एक बर्षमा ३४ सय कामदार भिसा लिएर नेपाल आए, ३ लाख बढी नेपाली विदेशीए

नेपालमा एक वर्षको अवधिमा करिब ३४ सय मानिस कामदार भिसा लिएर नेपाल आएका छन् । नेपालबाट भने विभिन्न अवसरको खोजीमा ३ लाख भन्दा बढी नेपाली विदेशीएका छन् ।

अध्यागमन विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ को १२ महिनाको अवधिमा उक्त संख्यामा विदेशीहरु कामदार भिसा लिएर नेपाल आएका हुन् । विभागका अनुसार अध्यागमन विभाग (एकल बिन्दु सेवा)बाट एक वर्षमा ६० र अध्यागमन विभागको गैरपर्यटक शाखाबाट ३३३१ गरि कुल ३३९१ जनाले कामदार भिसा लिएको तथ्यांक छ ।

नेपालमा कामदारका रुपमा आउने विदेशीमध्ये तेस्रो मुलुकका नागरिकले मात्र भिसा लगाउनु पर्छ । भारतबाट आउने कामदारले भने भिसा लगाउनु पर्दैन । नेपालमा यो वर्ष गैरपर्यटक भिसा लगाएर १३१०३ जना विदेशी नेपाल भित्रिएका छन् । यसमध्ये कामदार र व्यवसायिक भिसा लिनेको संख्या ठूलो रहेको छ ।
यो वर्ष व्यवसायिक भिसा लिएर नेपाल आउनेको संख्या २ हजार ६ सय ५२ रहेको विभागले जनाएको छ ।