झापाको ‘अमरपथ’ सडक खण्ड निर्माण अनिश्चितकालका लागि बन्द

झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् ।

ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए । उनले भने, ‘खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।’ खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेश गरिएको उनले जानकारी दिए ।

सो सडक खण्डको निर्माणमा १३० मजदूरकर्मचारी नियमित काम गरिरहेका छन् । उक्त सडकको लम्बाइ सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटरे छ ।