मेस्सीले बार्सिलोना छाड्ने पक्का

अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोनाले आज आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले अर्को सिजन नखेल्ने जनाएको हो ।

मेस्सी र क्लबबीच सम्झौता थप्नबारे भएको सहमतिमा बिहीबार हस्ताक्षर गर्ने तय थियो, तर आर्थिक र (ला लिगाको) संरचनात्मक बाधाका कारण सम्झौता हुन सकेन । अब मेस्सी बार्सिलोनामा नबस्ने भएका छन् ।
लामो समयको कसरत पछि दुई पक्षबीच सहमति बनेको थियो । तर बार्सिलोनामा अन्य खेलाडीले तलब घटाउन नमान्नु र ट्रान्सफर बजारमा अपेक्षित निर्णय हुन नसक्दा मेस्सीले क्लब छोड्नुपर्ने स्थिति आएको हो । कोरोना महामारीले आर्थिक रुपमा कमजोर रहेको बार्सिलोनालाई नयाँ नियमले थप समस्यामा पारेको हो ।

मेस्सीले क्लबलाई सहज होस् भनेर नै साविकबाट पनि कम तलब लिएर नयाँ सम्झौता गरेका थिए । तर लिगले उक्त सम्झौतालाई पनि मान्यता दिने अवस्था रहेन । ३४ वर्षीय फरवार्ड अब कहाँ जान्छन् भन्ने कौतुहलता बढेको छ ।