विधानकै खिल्ली उडाउँदै बेलबारी क्याम्पसको प्रमुख नियुक्ती : यस्ता छन् कानुनी अड्चन

दोहोरो सुविधा प्राप्त गर्नेगरी निजामति कर्मचारीलाई क्याम्पस प्रमुख बनाइएको भन्दै बेलबारी बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलित भैरहेपनि क्याम्पस सञ्चालक समितिले कुनै चासो नदिँदा शैक्षिक क्षेत्र अस्तव्यस्त भएको छ । बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालालाई क्याम्पस प्रमुख नियुक्त गरिएपछि नेपाल विद्यार्थी संघ विगत २ हप्तादेखि आन्दोलमा रहेको छ । यस कदमको विरुद्ध नेविसंघले विज्ञप्ती जारी गर्ने ध्यानाकर्षणपत्र बुझाउने लगायत विरोधका कार्यक्रम गरिसकेको छ । निर्णय नसच्चिए अझै कडा प्रकृतिका विरोधका कार्यक्रम गर्ने र कानुनी उपचार पनि खोज्ने नेविसंघले चेतावनी दिएको छ ।
बेलबारी नगरपालिकाकै उच्च शिक्षा अध्ययन हुने एक मात्र शैक्षिक संस्था बेलबारी बहुमुखी क्याम्पसमा प्रमुख नियुक्तीको विषय निकै पेचिलो बन्दै गएको हो । शैक्षिक संस्थाको चर्चा शैक्षिक उपलब्धी र परिणाम श्रेष्ठताको विषयमा भन्दापनि अन्य छिनाझपटीबारे भैरहँदा त्यसको असर शैक्षिक प्राज्ञिक क्षेत्रमा नकारात्मक रुपमा परिरहेको छ ।
क्याम्पसमा नयाँ प्रमुख नियुक्तीले सिर्जित विवादित अवस्थाको अहिलेसम्म कुनै निकास आएको छैन् । क्याम्पस सञ्चालक समितिले गत साउन ४ गते बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालालाई प्रमुख नियुक्त गर्ने निर्णय गरेपछि अहिले सो निर्णयको विरोध भैरहेको हो ।
विशेषगरी नेविसंघले बहालवाला निजामति कर्मचारी दोहोरो सुविधा प्राप्त गर्ने गरी अन्य कुनै स्थानमा दोहोरो जिम्मेवारीमा रहेर काम गर्न नपाउने भनेर विरोध गरिरहेको छ । नेविसंघले कोइरालाले क्याम्पस प्रमुख वा निजामति सेवामध्ये कुनै एउटा पद छाड्नुपर्ने दावी गरेको छ । सञ्चालक समितिको यो निर्णयप्रति असहमति जनाउँदै क्याम्पस सञ्चालक समिति सदस्य महेन्द्र सुवेदीले राजीनामा समेत दिइसकेका छन् ।
कोइरालाको क्याम्पस प्रमुख नियुक्तीसँग आकर्षित हुने कानुनी तथा बैधानिक व्यवस्थाहरु के कस्ता छन् ?
बेलबारी बहुमुखी क्याम्पस सञ्चालनलाई व्यवस्थित गर्न क्याम्पस सञ्चालन विधान २०६५ निर्माण भएको छ । सो विधानमा क्याम्पस सञ्चालक परिषद,सञ्चालक समिति,शिक्षक कर्मचारी,क्याम्पस प्रमुख नियुक्ती लगायत सबैबारे स्पष्ट उल्लेख छ । बेलबारी बहुमुखी क्याम्पस सञ्चालन गर्दा आधार मान्नुपर्ने मौजुदा कानुन नै यहि विधान हो ।विधानको दफा २१ मा क्याम्पस प्रमुख नियुक्तीको प्रावधान उल्लेख छ । दफा २१ मा रहेको प्रावधान यस्तो छ – ‘ क्याम्पस प्रमुख नियुक्ती र पदावधिः– १) क्याम्पस प्रमुखको नियुक्ती सञ्चालक समितिले सामान्यतया स्थायी शिक्षकहरु मध्येबाट नोकरीको जेष्ठता र कार्यक्षमताको आधारमा गर्नेछ ।’
विधानमा शिक्षकहरु मध्येबाटै क्याम्पस प्रमुख नियुक्ती गर्नुपर्ने वाध्यकारी व्यवस्था रहेको छ । कोइराला क्याम्पसका शिक्षक प्राध्यापक पनि हैनन् । नगरमा उनले नेतृत्व गर्ने शिक्षा शाखाले क्याम्पस हेर्ने अधिकार पनि राख्दैन । यसर्थ,बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालालाई नत क्याम्पसको विधानले चिन्छ । नत क्याम्पस व्यवस्थापन समिति, क्याम्पसका शिक्षक र विद्यार्थीले नै चिन्छन् ।
यस्तो अवस्थामा क्याम्पसमा अध्यापनरत झण्डै २ दर्जन शिक्षक प्राध्यापकलाई वेवास्ता गर्दै कोइरालालाई क्याम्पस प्रमुख नियुक्त गर्नुमा कुनै तालमेल मिल्दैन ।
बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी क्याम्पस सञ्चालक समितिका अध्यक्ष छन् । सुवेदी नगरप्रमुख भएकाले अध्यक्ष भएका पनि हैनन् । यसर्थ उनी सञ्चालक समिति अध्यक्ष हुनु संयोग वा सहमतिका विषय हुनसक्छन् । तर, कानुनी तथा वाध्यात्मक आधार र अधिकार क्षेत्रका विषय हैनन् । यसैले नगरपालिकाका बहालवाला कर्मचारीलाई नगरकै कुनै विभागमा जिम्मेवारी दिएजसरी क्याम्पस प्रमुखको जिम्मेवारी दिनुपनि युक्तिसंगत,कानुनसम्मत देखिदैन् ।
बरु, क्याम्पस भन्दा बाहिरबाटै अमुक व्यक्ति ल्याएर प्रमुखको कुर्सीमा राख्ने सञ्चालक समितिको निर्णयले वर्षौदेखि क्याम्पसमा प्राध्यापन गर्दै आएका शिक्षक प्राध्यापकमा नकारात्मक मनोवैज्ञानिक असर परेको छ । उनीहरुको वृत्तिविकास र क्याम्पस प्रमुखमा स्वतः उमेद्वार बन्न सक्नेगरी विधानले दिएको अधिकार कुण्ठित भएको छ ।उत्साहका साथ प्राध्यापन गर्ने वातावरण विग्रिएजस्तो अवस्था बनेको छ । उता, विद्यार्थीमा आक्रोस थपिएको छ ।
क्याम्पस प्रमुख भुपेन्द्र कोइराला बहालवाला निजामति कर्मचारी हुन् । निजामति सेवा ऐन २०४९ मा निजामती कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्नेगरी परामर्शदाता,सल्लाहकार,विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्न हुँदैन भनेर स्पष्ट उल्लेख छ । ऐन को दफा ४९ मै अख्तियारवालाको पुर्व स्विकृति लिइ शैक्षिक,प्राज्ञिक तथा अनुसन्धानको कार्य गर्न पाउने उल्लेख भने उल्लेख छ । तर, निजामति कर्मचारी,शिक्षा शाखाका प्रमुखको अख्तियारवाला व्यक्ति वा संस्था मेयर वा नगरपालिका हुन्छन् र ? यो पनि प्रश्न रहेको छ ।
बेलबारी बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो । त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा सम्बन्धन प्राप्त क्याम्पसको काम, कर्तव्य र अधिकार उल्लेख छ ।त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० त्रिभुवन विश्वविद्यालय ऐन २०४९ बमोजिम निर्माण भएको हो । त्यसैले उक्त ऐन र ऐन अन्तर्गतका सम्बन्धित नियम पालना गर्नु बेलबारी बहुमुखी क्याम्पसको पनि कर्तव्य हुनेछ ।
विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियममा आंगिक क्याम्पसहरुमा क्याम्पस प्रमुख नियुक्त गर्दा शैक्षिक विशिष्टता प्राप्त गरेका वरिष्ठ शिक्षकहरूमध्येबाट कार्यकारी परिषद्ले क्याम्पस प्रमुखको नियुक्ति गर्ने उल्लेख छ । उक्त नियमको यो व्यवस्था भन्दा वाहिर गएर सम्बन्धन प्राप्त क्याम्पसले पनि प्रमुख नियुक्ती गर्ने अवस्था देखिदैन् । तसर्थ बेलबारी बहुमुखी क्याम्पसमा पनि प्राध्यापन गरिरहेका शिक्षकहरुमध्ये बाटै प्रमुख नियुक्त गर्नुपर्ने स्पष्ट हुन्छ ।