पोखरीमा भेटियो नौ दिनको शिशुसहित तीन जनाको शव

सर्लाहीको ब्रहृमपुरी गाउँपालिका–३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव पोखरीमा फेला परेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिए ।


रिकेवादेवी मंगलबारराति नाबालक छोरा–छोरीसहित घरबाट निस्किएकी थिइन् । तीनैजनाको शव बुधबार बिहानपख सूर्यवंश चौधरीको निजी पोखरीमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव निकालेर पोष्टमार्टमका लागि मलंगवा पठाइएको र अनुसन्धान पनि जारी राखेको एसपी राठोरले बताए ।