ए डिभिजन लिग निर्धारित समयमा नै हुने

चार ’ए’ डिभिजन लिग क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग रोक्न माग गरे पनि लिग असोज पहिलो हप्तादेखि आयोजना हुने भएको छ । १४ क्लब मध्येका चार ’ए’ डिभिजन लिग क्लबले मङ्गलवार लिग रोक्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्थामा पुग्ने आशङ्का देखिएको थियो । तर, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले भने चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग हुने बताएका हुन् ।
ललितपुरका चार क्लबले कोरोना महामारीको विषम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापन पत्र बुझाएका थिए । त्यही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै क्लबले लिग रोक्न दिएको ज्ञापन पत्रले केही फरक नपर्ने भन्दै निर्धारित मितिमा नै लिग हुने बताएका हुन् ।
सहिद स्मारक ’ए’ डिभिजन लिग २०२१ असोज ३ गतेदेखि आयोजना गर्ने तालिका एन्फाले यसअघि नै सार्वजनिक गरेको छ ।