एकै दिन थपिए ३ हजारभन्दा धेरै कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर तीन हजार एक सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय दुई जनामा र चार हजार दुई सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ६ जनामा गरी तीन हजार एक सय आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये २३ दशमलव ६६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन नेपालमा सङ्क्रमणदर २० प्रतिशतको हाराहारीमै सीमित थियो ।
योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख २१ हजार ६ सय १७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ९५ जना सङ्क्रमणमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ६ लाख ३४ हजार नौ सय २७ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार चार सय १९ रहेको छ ।
यस्तै कोरोनाका कारण थप २५ जनाको ज्यान गएसँगै नेपालमा सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय सात पुगेको मन्त्रालयले जनाएको छ ।