अन्तरविरोध बढेको भन्दै एमालेका दोस्रो तहका नेताहरु छलफलमा

पार्टीमा फेरि अन्तरविरोध बढेको भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् ।
शनिबार सिंहदरबारमा भएको अनौपचारिक छलफलमा गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका नेताहरुले असार २७ मा १० बुँदे सहमति गरे पनि सहमति कार्यान्वयन नहुँदै अध्यक्ष ओली र नेता नेपालबीच अन्तरविरोध बढेको छ ।
शनिबार भएको अनौपचारिक बैठकमा कार्यदलका सदस्य १० जना नेता र पार्टी सचिव भीम आचार्य सहभागी भएका थिए । सबै नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर एकता जोगाउनुपर्छ भन्ने मत राखेका सचिव विष्टले बताए । एमाले नेता सुवासचन्द्र नेम्वाङले दश बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको बताए ।