ओली उपहार: माधव नेपाललाई भावी नेतृत्वको प्रस्ताव

काठमाण्डौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउन भावी नेतृत्वको लागि प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई वालुवाटार बोलाएर सो प्रस्ताव गरेको स्रोतको दावी छ ।

कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष दाहालसँग खटपट परेपछि ओलीले नेपाललाई बोलाएर भावी नेतृत्व लिएर पार्टी हाँक्न प्रस्ताव गरेको वालुवाटार निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार दिउँसो भेटघाट गरेका थिए । गत कार्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा एक्लै छलफल गरेका थिए ।

नेपाल निकट स्रोतका अनुसार नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतामा जोड दिएका थिए । कर्णाली प्रदेशमा देखिएको विवाद र पर्सामा भएको पार्टी एकताको शपथ ग्रहणका बेला भएको हत्यापछि कार्यकारी अध्यक्ष दाहालसँग ओलीको सम्बन्ध विग्रिएको छ । कार्तिक ३ पछि दुई अध्यक्षबीच भौतिक रुपमा भेटघाट भएको छैन भने दुवै अध्यक्षले दशैंको शुभकामना पनि आदान प्रदान नगरेको स्रोतको दावी छ ।