विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द विप्लव नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) छन् ।
विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचनाको आधारमा मिक्लाजुङ क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक सन्तोष खड्काको कमाण्डमा टोली परिचालन गरिएको थियो ।
उनीहरु बसेको स्थानबाट नालसहितको भरुवा बन्दुक १ थान, त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, विष्फोटक पदार्थ जिलेटिन ३ केजी, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, ननइलेक्ट्रिक डेटोनेटर १८ थान, गन पाउडर र बारुद ४ बट्टा लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्व सेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।