बेलबारी । मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो दुई पक्षबीच भएको झडपमा परेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
‘ग्याङ फाइट’मा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
उनका अनुसार घटनामा परेर घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको हो । डीएसपी राईका अनुसार स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ कोे गौरव राईको समूहबीच झडप भएको हो ।
घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार रहेकाले खोजी भइरहेको डीएसपी राईको भनाइ छ ।
झडप गर्ने दुवै पक्ष एकआपसका छिमेकी हुन् । उनीहरु बीचमा के विषयमा विवाद भएको थियो भन्ने खुल्न बाँकी रहेको राईले बताए । डीएसपी राई आफै अहिले प्रहरीको विशेष टोली लिएर घटनास्थलमा पुगेका छन् ।