बेलबारीमा एकैपटक ७ महिलामा कोरोना पुष्टि :वालिकादेखि वृद्धासम्म संक्रमित


बेलबारीमा ट्राभल हिस्ट्री नभएका पहिलो कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङका क्रममा एकै पटक ७ महिलामा कोरोना संक्रमण देखिएको छ । सोमबार आएको रिपोर्ट अनुसार पुष्टि भएका बेलबारीका १० संक्रमित मध्ये ७ जना महिला रहेका छन् भने ३ जना पुरुष रहेका छन् । बेलाबारीमा समुदायस्तरमै यति ठुलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमित महिलाको संख्या पनि ह्वात्तै बढेको छ । संक्रमित महिलाहरुमा १२ वर्षिया वालिका देखि ६६ वर्षिया वृद्धासम्म छन् ।केहीदिन अघि कसेनी स्वास्थ्य चौकीकी एक महिला स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । अरु बाँकी संक्रमित सबै पुरुष थिए । यो तथ्यांकले बेलबारीमा महिलाहरु उच्च जोखिममा रहेको देखाउँछ ।
संक्रमित १० मध्ये ८ जना संक्रमित व्यक्तिकै परिवारका आफन्त नातेदारहरु रहेका छन् भने २ जना परिवार वाहिरका रहेका छन् । कन्ट्याक ट्रेसिङमा परेका २१ जनाको स्वाब परिक्षणका लागि गत विहिबार धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो । सोमबार आएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पुष्टि भएको हो ।
बेलबारी २ लालभित्तीमा बस्दैआएका ट्राभल हिस्ट्री नभएका पहिलो संक्रमित व्यक्तिको मुलघर भने बेलबारी १ मै पर्दछ । उनी लालभित्तीमा एक घरमा कोठा भाडामा बस्ने गरेको र कन्ट्याक ट्रेसिङका क्रममा सोही घरमा भाडामा बस्ने २ जनामा पनि संक्रमण देखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । सोमबार संक्रमण पुष्टि भएका मध्ये बेलबारी २ का ३ जना र बाँकी ७ जना बेलबारी १ का रहेका छन् ।
आफन्त दुर्घटनामा परेर घाइते भएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गराउन गएका बेलबारी २ का ती ४२ वर्षिय व्यक्तिमा गत साउन २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले उपचार र हेरचाह गरेका बेलबारी १ का उनका आफन्तमा भने दोस्रो पटकको परिक्षणमा पनि कोरोना संक्रमण देखिएन । पछिल्लो अद्यावधिक विवरण अनुसार बेलबारीमा अहिलेसम्म संक्रमितको संख्या १८ पुगेको छ ।
समुदायमै कोरोना संक्रमण देखिएपछि अब कन्ट्याक ट्रेसिङ गर्ने लगायतका कार्यहरु अघि बढाइने पनि नगरपालिकाको तयारी रहेको छ ।

यो पनि पढ्नुहोस :