बेलबारीमा हुने महोत्सव प्रचारका लागि बेलबारी रन : शुशिला र याङदेव प्रथम


फागुन १०
यहि फागुन १७ गतेदेखि बेलबारीमा आयोजना हुन लागेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको प्रचार गर्ने उद्देश्यले शनिबार ‘बेलबारी रन’ दौड प्रतियोगिता आयोजना भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा भएको बेलबारी रनमा महिला तर्फ ३ किलोमिटर र पुरुष तर्फ ५ किलोमिटर दुरीमा छुट्टाछुट्टै दौड भएका थिए । बेलबारी रनमा महिला तर्फ निर्धारित ३ किलोमिटर दुरी १५ मिनेट ६ सेकेण्डमा पार गर्दै शुशिला राई प्रथम हुनुभएको छ । पुरुषतर्फ निर्धारति ५ किलोमिटर दुरी १७ मिनेट ९ सेकेण्डमा पार पुरा गर्दै याङदेव राई प्रथम हुनुभएको छ । त्यस्तै महिला तर्फ १५ मिनेट ७ सेकेण्डमा निर्धारित दुरी पार गर्दे संगिता तामाङ दोस्रो र १५ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै भावना श्रेष्ठ तेस्रो हुनुभएको छ । पुरुषतर्फ निर्धारित ५ किलोमिटर दुरी १७ मिनेट १५ सेकेण्डमा पार गर्दै हर्कदिप लगुन दोस्रो र १७ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै पुजन राई तेस्रो हुनुभएको आयोजकले जानकारी दिएको छ । बेलबारी रनमा पुरुष तर्फ १ सय १ र महिला तर्फ ३४ जनाले सहभागिता जनाएका थिए । रनमा प्रथमले ५ हजार दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ नगद सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरुलाई बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी,उपप्रमुख ढाका पराजुली, नेकपा बेलबारीका अध्यक्ष पर्सुराम सुवेदी,कांग्रेस बेलबारीका सभापति शम्भु भट्टराई, समाजवादी पार्टीका नगर सचिव अमिर मगर लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । बेलबारीमा फागुन १७ देखि आयोजना हुन लागेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यले बेलबारी रन आयोजना गरिएको आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीका अध्यक्ष तिलक राईले जानकारी दिनुभएको छ ।