रोयल क्लब वेष्ट बंगालले जित्योे बेलबारी अन्तराष्ट्रिय गोल्डकपको उपाधि

१४ असोज । रोयल क्लब वेष्ट बंगालले मोरङको बेलबारीमा संपन्न अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको उपाधि जितेको छ । मंगलबार संपन्न फाइनलमा सुनसरीको धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै रोयल क्लबले गोल्डकपको उपाधि जितेको हो ।
उपाधिसँगै रोयल क्लबले नगद ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको धरानले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।
फाइनलमा रोयल क्लबका कप्तान आदर्श तामाङले १० औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १–० को अवस्थामा पहिलो हाफ सकिएको खेलको मध्यान्तरपछि रोयल क्लबले थप ३ गोल गर्दा धरानले मात्र १ गोल फर्कायो । ५७ औं मिनेटमा रोयल क्लबका निशान लिम्बूले गोल गरे ।
अमन थापाले ६९ औं मिनेटमा गोल गर्दै रोयल क्लब ३–० ले अगाडी बढ्यो । सत्यम शर्माले ७१ औं मिनेटमा गोल थप्दै टिमलाई थप अग्रता दिलाए ।
धरानका उमेश राईले ७४ औं मिनेटमा सान्त्वना गोल फर्काए । खेलमा थप गोल हुन नसक्दा पाहुना टोली भारतले प्रतियोगिताको उपाधि उचाल्यो ।
फाइनल खेलको म्यान अफ दी म्याच धरानका मनोज राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रोयल क्लबका निशान लिम्बू घोषित भए । उनले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ता बनेका उनले प्रतियोगिता भर ३ गोल गरेका छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्स भारतका निरज बस्नेत, मिड फल्डर आदर्श तामाङ, स्ट्राईकर श्याम सरकार, गोलरक्षक किशोर गिरी र उत्कृष्ट प्रशिक्षक भारतका कमल सुब्बा बने । उनीहरुले जनही सात हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताको उदियमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका शंकर राई घोषित भए । विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकाल लगायतले पुरस्कार वितरण गरे ।
दोस्रो सेमिफाइनलमा एपिएफ काठमाण्डौंलाई ० का विरुद्ध ३ गोल गर्दै रोयल क्लबले उपाधि यात्रा तय गरेको थियो भने पहिलो सेमिफाइनलमा धरान फुटबल क्लबले मदन भण्डारी स्पोर्ट एकेडेमीलाइ १ का बिरुद्ध २ गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
गत असोज ४ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल गत शुक्रबार नै हुने भएपनि प्राबिधिक कारण खेल शनिबार लाई सारिएको थियो । शनिबार पनि निरन्तर बर्षाका कारण स्थगित गरी मंगलबारलाई सारिएको थियो ।
डाँगीहाट युथ क्लब बेलबारी ११ ले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *